हेलिकोप्टरबाट इन्धन ल्याएर थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

लोकपथ
0
Shares

मनाङ । घट्टेखोलाको लेदोसहितको बाढीले ढुंगा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि तालकै रूपमा रहेको छ ।

नदीले पुलमाथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बग्न थाले पनि पुलको दायाँ र बायाँतर्फ पानी जमेको अवस्थामा रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीको बहाव सञ्चालन गर्न दुवैतर्फबाट एक्साभेटर प्रयोग गरेर काम भइरहेको छ । इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन ल्याएर काम अघि बढाइएको उनले बताए ।

‘एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, इन्धन ल्याउन सहज छैन । नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन ल्याएर काम भइरहेको छ,‘पौडेलले भने ।

उनका अनुसार हाल विज्ञहरूको परामर्शमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा नदीको बहाव सहज बनाउने काम भइरहेको छ । स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायत उपकरण प्रयोग गरी तालको बहाव सञ्चालन गर्ने प्रयास भइरहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

‘नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर छेउको भागबाट काम गरिरहेका छौँ,‘घलेले भने, ‘आम नागरिकको हितका लागि दिनरात नभनी काम गरिरहेका छौँ ।’

नदीले पुलमाथिबाट धार परिवर्तन गरेपछि आसपासका केही घर डुबानमा परेका छन् । घट्टेखोलामा आएको बाढी तथा पहिरोका कारण विद्युत् र खानेपानी आपूर्ति, टेलिफोन, इन्टरनेट तथा सडक सञ्जालसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैबीच, मर्स्याङ्दी नदीको बाढीले नासोँ गाउँपालिका–८ र ९ जोड्ने पुल बगाएपछि स्थानीयको आवतजावत थप कठिन बनेको छ ।

स्थानीय रामबहादुर थकालीका अनुसार ताचैबासी अहिले सडक सञ्जालबाट पूर्ण रूपमा अलग भएका छन् । विगतमा तीनतिरबाट आवतजावत गर्न सकिने भए पनि पछिल्ला दिनमा घोडेटो, गोरेटो तथा मोटरबाटोसमेत बाढीपहिरोले क्षति पुर्‍याएको उनले बताए ।

उनका अनुसार गाउँमा कसैलाई आकस्मिक रूपमा बाहिर जानुपर्ने अवस्था आए पनि अहिले सम्भव छैन ।

नासोँ–८ का वडाध्यक्ष याद घलेले गाउँबाट आवतजावत गर्ने सबै बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क टुटेको बताए ।

‘गाउँबाट आवतजावत गर्ने सबै बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क टुटेको छ । म आफैँ पनि वडाकै नेतृत्वमा छु । तर, आवश्यक स्रोतसाधन अभावले केही काम नै गर्न सकिएको छैन,‘उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?