धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दै, डिम्याट खाता ८० लाख नाघ्यो

लोकपथ
0
Shares

काठमाडौं । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा विस्तार भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिमा प्रस्तुत गरेको तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ ।

बुधबार बसेको अर्थ समितिको बैठकमा अध्यक्ष भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को असोज १३ गतेसम्म डिम्याट खाता ८० लाख ९५ हजार पुगेको जानकारी दिए । उनका अनुसार ‘मेरो सेयर’ खाता सक्रिय प्रयोगकर्ताको संख्या ५१ लाख २२ हजार पुगेको छ ।

त्यस्तै, गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।

सेबोनका अनुसार नेपालको प्राथमिक धितोपत्र बजारमा साधारण सेयरको हिस्सा सबैभन्दा बढी रहेको छ । संगठित संस्थाले प्राथमिक बजारबाट संकलन गरेको पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत रहेको छ ।

त्यस्तै, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत रहेको छ ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि स्वीकृति दिइएको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म भने चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको छ ।

त्यसैगरी, हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको अध्यक्ष भट्टले जानकारी दिए ।

दोस्रो बजारतर्फ नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकांक असोज १३ गतेसम्म २६०३.७१ बिन्दुमा कायम रहेको छ । सो अवधिमा कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।

धितोपत्र बजारले सरकारको राजस्वमा समेत योगदान गर्दै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा धितोपत्र बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म भने बजारबाट १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?