चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीको सक्रियता बढ्यो, यस्तो छ तयारी

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले ट्राफिक प्रहरीले सवारी अनुगमन र चेकजाँचलाई कडा बनाउने भएको छ ।

यात्रुको चाप बढ्दा टिकट बिक्रीमा ठगी, बढी भाडा असुल्ने तथा सवारी नियम उल्लंघन हुन सक्ने भएकाले निगरानी बढाउन लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार चाडपर्वका बेला तोकिएकोभन्दा बढी भाडा लिने, सवारीको क्षमताभन्दा बढी टिकट काट्ने र एउटै सिटमा एकभन्दा बढी टिकट बिक्री गर्ने जस्ता समस्या हुन सक्ने भएकाले चेकजाँच बढाइनेछ ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र सवारीसाधनबीच अस्वस्थ प्रतिस्पर्धा गर्ने गतिविधिमाथि पनि निगरानी गरिनेछ ।

यात्रुको सहजता र सुरक्षाका लागि उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ । बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलंकी, भीमढुङ्गा र साँखुलगायत क्षेत्रमा सहायता कक्ष राखिनेछ ।

अनुगमनका क्रममा सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषणसमेत जाँच गरिनेछ । लामो दूरीका सवारीमा कानुनअनुसार दुई जना चालक भएरनभएको पनि जाँच गरिने प्रहरीले जनाएको छ ।

चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी चलाउने सम्भावना बढ्ने भएकाले ब्रेथलाइजरमार्फत मापसे परीक्षणलाई प्रभावकारी बनाइनेछ। दिन र रात दुवै समयमा सडकमा ट्राफिक प्रहरीको उपस्थिति बढाइनेछ ।

यस्तै, चाडपर्वमा मठमन्दिर तथा धार्मिक स्थलमा दर्शनार्थीको भीड बढ्ने भएकाले पार्किङ व्यवस्थापनका लागि पनि ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरी, सिभिल प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगर प्रहरीबीच समन्वय गरेर संयुक्त रूपमा अनुगमन तथा चेकजाँच गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?