राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेस

लोकपथ
28
Shares

काठमाडौं । सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रतिनिधिसभामा पेस गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र साहको तर्फबाट विधेयक पेस गरेकी हुन् ।

राष्ट्रिय सुरक्षा, प्रतिरक्षा तथा सामरिक मामिलामा विशिष्ट अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले विधेयक ल्याइएको हो ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ बमोजिम विधेयकमाथि कुनै सदस्यबाट विरोधको सूचना नआएकाले पेश गर्न अनुमति दिएका थिए ।

विधेयक पेश गर्दै मन्त्री गौतमले बदलिँदो विश्व परिवेश तथा भू–राजनीतिक संवेदनशीलतालाई सम्बोधन गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय महत्वपूर्ण हुने बताइन् ।

उनले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन तथा अध्यापनमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सक्षम जनशक्ति उत्पादन गर्नु विश्वविद्यालयको मुख्य उद्देश्य रहेको बताइन् ।

विश्वविद्यालयले सैनिक तथा गैरसैनिक अधिकारीलाई एउटै थलोमा उच्च शिक्षा र तालिम प्रदान गर्ने व्यवस्था गर्नेछ । साथै, सुरक्षा तथा सामरिक मामिलामा सरकारलाई नीति निर्माणका लागि प्रमाणमा आधारित तथ्य र राय उपलब्ध गराउने मन्त्री गौतमले बताइन् ।

उनका अनुसार विश्वविद्यालयले नेपालको सुरक्षा कूटनीति सुदृढ बनाउन तथा प्रतिरक्षा र सामरिक विषयमा अनुसन्धानलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेकाले यसको सञ्चालन तथा प्राज्ञिक स्वायत्तता सुनिश्चित गर्न स्थायी कानुनी संरचना आवश्यक रहेको सरकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?