ई-सेवाको सीईओमा निरज शर्मा, सम्हाले कार्यभार

लोकपथ
0
Shares

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् ।

गत भदौ ३० गते बसेको ई–सेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्षको सेवाकाल सोमबारबाट सम्हालेका हुन् ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी मानिन्छन् । डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहक केन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्नुकासाथै, टोलीको नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउन उनीसँग उल्लेखनीय अनुभव रहेको छ ।

बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्माको नेतृत्वले ई–सेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

ई–सेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञता कम्पनीको आगामी रणनीतिक प्राथमिकतालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

ई–सेवाले विगतदेखि हासिल गर्दै आएको उपलब्धिलाई निरन्तरता दिँदै बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्वपूर्ण हुने विश्वास लिएको ई–सेवा सञ्चालक समितिले जनाएको छ ।

निवर्तमान सीईओ जगदीश खड्काको कार्यकाल पूरा

ई–सेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । वि.सं. २०७९ असोज १२ मा ई–सेवाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका खड्काले आफ्नो कार्यकाल सफलतापूर्वक रूपमा पूरा गरेको कम्पनीले जनाएको छ ।

खड्काको व्यवस्थापकीय नेतृत्वमा ई–सेवाले आफ्नो सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरालाई उल्लेख्य रूपमा विस्तार गरेको छ ।

उनको कार्यकालमा ई–सेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनुका साथै नयाँ प्रडक्ट तथा फिचरहरूको निर्माण, नवप्रवर्तन तथा डिजिटल सेवाको विस्तारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको कम्पनीले जनाएको छ । उनको कार्यकालमा ई–सेवामा दर्ता हुने प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चेन्टको सङ्ख्या ६ लाख नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?