आजबाट सुरु भयो सोह्र श्राद्ध, तीर्थस्थलमा तर्पण र पिण्डदान गर्नेको घुइँचो

लोकपथ
0
Shares

काठमाडौं । हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजबाट सुरु भएको छ । हिन्दु पञ्चाङ्गअनुसार आश्विन कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध सुरु हुने गर्दछ ।

सोह्र श्राद्धको पहिलो दिन आज काठमाडौंको गोकर्णेश्वर उत्तरगया, पशुपतिनाथ क्षेत्रलगायत देशभरका प्रमुख नदी किनार तथा तीर्थस्थलमा तर्पण, सिदादान र पिण्डदान गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहेको छ ।

विशेषगरी गोकर्णेश्वरमा बिहानैदेखि दिवंगत पितृको मोक्षको कामना गर्दै श्राद्ध तथा तर्पण गर्नेहरूको घुइँचो लागेको छ । कतिपयले घरमै विधिपूर्वक श्राद्ध गरिरहेका छन् भने कतिपयले पवित्र नदी तथा तीर्थस्थलमा पुगेर पितृका नाममा तर्पण र पिण्डदान गरिरहेका छन् ।

सनातन धर्मावलम्बीहरूले सोह्र श्राद्धलाई दिवंगत पितृप्रति श्रद्धा र सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा लिने गर्दछन् । धार्मिक मान्यताअनुसार पितृ पक्षका बेला पितृहरू पृथ्वीलोकमा आउने र आफ्ना सन्ततिबाट तर्पण तथा श्राद्धको अपेक्षा गर्ने विश्वास छ ।

शास्त्रीय मान्यताअनुसार आफ्ना पुर्खाको देहावसान भएको तिथिकै दिन श्राद्ध गर्नुपर्ने विधान रहेको छ । सोहीअनुसार सोह्र श्राद्ध अवधिभर विभिन्न तिथिमा दिवंगत भएका पितृहरूको श्राद्ध गरिन्छ ।

श्राद्ध तथा तर्पणबाट पितृहरू तृप्त हुने र उनीहरूको आशीर्वादले परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ ।

चाडपर्वको मौसम सुरु हुनुअघि पर्ने पितृ पक्षले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै पुर्खाप्रतिको सम्मान र पारिवारिक एकताको सन्देशसमेत दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?