बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन राति सवारी चलाउन रोक

लोकपथ
56
Shares

काठमाडौं । सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन राति सवारी चलाउन रोक लगाइएको छ ।

असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको हो ।

मनसुन प्रतिकार्य कमाण्डपोस्ट काभ्रेपलाञ्चोकको बैठकले बाढीपहिरोको जोखिम कम गर्न यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार असोज ८ देखि ११ गतेसम्म ठूलो वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले रातिको समयमा सवारी रोक्ने निर्णय गरिएको हो ।

वर्षा र बाढीको अवस्था हेर्दा दिनको समयमा पनि सवारी रोक्नुपर्ने भए जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय गर्न सक्नेछ ।

रातिको समयमा बाढीपहिरो वा सडक अवरुद्ध भए उद्धार तथा यातायात व्यवस्थापनमा समस्या हुनसक्ने भएकाले सावधानी अपनाइएको प्रशासनले जनाएको छ ।

निर्णय कार्यान्वयनका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरिने भएको छ ।

त्यस्तै, नदी किनार र पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई बाढीपहिरोबारे नियमित जानकारी गराउने तथा स्थानीय सञ्चारमाध्यमबाट पूर्वसूचना प्रभावकारी रूपमा फैलाउने निर्णय गरिएको छ ।

सम्भावित विपद्का बेला तत्काल उद्धार गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राखिने भएको छ । प्रशासनले जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सचेत रहन र आवश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?