काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ ।
प्याब्सनले बिहीबार पत्रकार सम्मेलनमार्फत राहत रकमबारे जानकारी दिएको हो । भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भदौ ११ गतेदेखि प्याब्सनले देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र शुभेच्छुकबाट सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।
अभियानबाट संकलित रकममध्ये भदौ २६ गते तत्कालीन अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, असोज ७ गते शिक्षा मन्त्री सस्मित पोखरेलमार्फत राहत कोषमा थप ३ करोड ३९ लाख २ हजार ९ सय ७० रुपैयाँ जम्मा गरिएको प्याब्सनले जनाएको छ ।
बाढीबाट पूर्ण क्षति भएका तीन र आंशिक क्षति भएका दुई विद्यालयका लागि २ करोड रुपैयाँ छुट्याइएको छ । प्याब्सनका सदस्य विद्यालयहरूले सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ५० लाख रुपैयाँसमेत जम्मा गरेका छन् ।
प्याब्सनले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका पढाइबाट वञ्चित बालबालिकाको शिक्षालाई निरन्तरता दिन आवश्यक शैक्षिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । राहत अभियानमा सहयोग गर्ने विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई प्याब्सनले धन्यवाद दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया