काठमाडौं । अमेरिकाले नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि पुनर्निर्माण र पुनर्स्थापनाका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटमा राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले सहयोगको घोषणा गरेकी हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार उनले बाढीबाट प्रभावित नेपाली तथा नेपालमा बेपत्ता रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति सहानुभूति पनि व्यक्त गरेकी छन् ।
अमेरिकाले आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि १ करोड डलर उपलब्ध गराउने भएको छ । ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने र बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क सुधारमा प्रयोग गरिनेछ ।
त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयाममा आवश्यक सहयोगका लागि थप ८० लाख डलर उपलब्ध गराउने घोषणा गरिएको छ ।
विपद्पछिको पुनर्स्थापना तथा राहत कार्यलाई प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोनका लागि पनि १ करोड ३० लाख डलर उपलब्ध गराउने अमेरिकी विदेश मन्त्रालयको योजना छ ।
नयाँ सहयोग घोषणासँगै नेपालको बाढीपछिको प्रतिकार्य र पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ ।
अमेरिकाले आवश्यकताअनुसार थप सहायता उपलब्ध गराउन नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया