आरेन राईको प्रश्न– ‘सरकारसँग समन्वय गरेर काम गर्छु भन्दा पनि गर्न नदिने यो कस्तो देश हो ?’

लोकपथ
0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारको उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले सरकारले विपद् प्रतिकार्यमा आम नागरिकलाई सहभागी हुने वातावरणसमेत बनाउन नसकेको आरोप लगाएका छन् ।

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सामाजिक सञ्जालमा आएका सूचनाभन्दा अवस्था अझै गम्भीर रहेको उनको भनाइ छ । उनले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका लागि स्वदेशी तथा विदेशी विज्ञ टोलीको सहयोग लिन सरकारलाई आग्रह गरे ।

सरकार आफैंले प्रभावकारी काम नगर्ने र सहयोग गर्न चाहने नागरिकलाई समेत काम गर्न नदिने प्रवृत्तिका कारण ठूलो मानवीय क्षति भएको राईले बताए ।

‘सरकारले सबैभन्दा पहिला उद्धार कार्यमा ढिलासुस्ती गर्‍यो । अझै पनि बाढी प्रभावित क्षेत्रमा उद्धारको कार्य हुन सकेको छैन । सामाजिक सञ्जालमा अफवाह फैलाइएको जस्तो फिल्डको अवस्था छैन,’ उनले भने ।

उनले विपद्का बेला सुरक्षाकर्मी र विज्ञ टोलीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए । सरकारसँग समन्वय गरेर सहयोग गर्न आउनेलाई समेत काम गर्न नदिएको भन्दै उनले प्रश्न गरे, ‘सरकारसँग समन्वय गरेर चाहिँ काम गर्छु भन्दा पनि गर्न नदिने यो कस्तो देश हो ?’

आन्तरिक सुरक्षासम्बन्धी विषय भए समन्वय गरेर सहयोग गर्न चाहनेलाई काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

राईले बाढी प्रभावित नागरिकका लागि स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा तथा पुनर्स्थापनामा समेत गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?