सिटिजन्स बैंकद्वारा बाढीपीडितका लागि २ करोड २२ लाख रुपैयाँ सहयोग

लोकपथ
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ ।

बैंकले बाढीमा ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ । यसअघि बैंकले बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ स्थित देवीघाट क्षेत्रमा चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत खाद्यान्न सामग्रीसमेत वितरण गरेको थियो ।

बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालयसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?