धनकुटामा नयाँ उद्योग दर्ता बढ्यो, १५१ उद्योग बन्द

लोकपथ
0
Shares

धनकुटा । धनकुटामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको छ भने पुराना उद्योग बन्द हुने क्रम पनि देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । सोही अवधिमा १५१ वटा उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार नयाँ दर्ता भएका उद्योगमध्ये १११ वटा प्रशासनतर्फ र ३७ वटा वाणिज्यतर्फका छन् ।

प्रशासनतर्फ उत्पादकमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधिसम्बन्धी पाँच उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ खाद्यान्न तथा किराना व्यवसायका ३७ वटा उद्योग दर्ता भएका छन् ।

कार्यालयका प्रमुख माधव बाँस्कोटाका अनुसार युवामा उद्योग सञ्चालनप्रति उत्साह बढ्नुका साथै अनुदानलगायतका सेवा पाइने भएकाले नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको हो । तर, मापदण्ड पूरा गरेका व्यवसायीलाई मात्र अनुदान दिने भएकाले अनुदान नपाउने केही व्यवसायीले उद्योग बन्द गर्ने गरेको उनले बताए ।

गत आर्थिक वर्षमा १२३ वटा घरेलु तथा साना उद्योग र २८ वटा वाणिज्य उद्योग बन्द भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने धनकुटामा ३३६ वटा उद्योग बन्द भएका थिए । यसरी हेर्दा उद्योग बन्द हुने सङ्ख्या उल्लेख्य रूपमा घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा १३४ वटा नयाँ उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा यो सङ्ख्या बढेर १४८ पुगेको हो ।

कार्यालयका अनुसार हालसम्म धनकुटामा चार हजार २९३ वटा उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा ७६४ वटा उद्योग नवीकरण भएका छन् । जसमा प्रशासनतर्फ ५१६ र वाणिज्यतर्फ २४८ उद्योग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?