काठमाडौं । हालै रसुवाको भोटेकोशीमा गएको बाढीका कारण मुलुकले ठूलो धनजनको क्षति ब्यहोरेको छ ।
सरकारले राहत तथा उद्धारमा सहयोगार्थ आर्थिक सहयोगको लागि सार्वजनिक अपिल जारी गरिसकेको छ । जहाँ अर्बौँ पैसा आइसकेको छ भने बाढी प्रभावितहरुका लागि खर्च समेत भइरहेको छ ।
विदेशमा रहेका नेपालीहरु समेत समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग उपलब्ध गराइरहेका छन् ।
यसैक्रममा जापानमा रहेका नेपालीहरुको एकताका लागि खोलिएको नुवाकोट समाज जापानले आर्थिक सहयोग उपलब्ध गराएको छ । अध्ययन, रोजगारी तथा व्यवसायको शिलशिलामा जापानमा रहेका नेपालीहरुबाट प्राप्त एकमुष्ट रकम सरकारी कोषमा जम्मा गरिएको हो ।
बाढीपछि जापानमा समाजले सहयोगका लागि अभियान नै चलाएको थियो । अभियानबाट ९ लाख येन अर्थात् ८ लाख ५७ हजार ३ सय ४० रुपैयाँ जम्मा भएको समाजका अध्यक्ष ज्ञानेन्द्र पुडासैनीले जानकारी दिए । अध्यक्ष पुडासैनीका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ ।
उनले उक्त अभियानमा सहभागि हुनेदेखि सहयोग गर्नेहरुप्रति धन्यवाद व्यक्त गरे ।
‘नुवाकोट समाज जापानका तर्फबाट बाढी–पहिरो पीडितहरूका लागि सहयोग पुर्याउनु हुने सम्पूर्ण दाता महानुभावहरू, र साथ दिने सबै माहान मनहरूप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ । यहाँहरूको उदारता, हामी प्रतिको विश्वास भरोषा र मानवताको भावनाले पीडितहरूको जीवनमा आशा र हौसला थप्ने हाम्रो बिश्वास छ। आगामी दिनहरूमा पनि यस्तै मानवीय सेवाभावसाथ अघि बढ्ने हाम्रो प्रतिबद्धता ताजा नै छ। पुनः सबै सहयोगी हातहरूलाई हृदय देखी नमन सहित हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया