काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत वितरणका लागि राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन् ।
बाढीबाट उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको प्रधानमन्त्री शाहले बताए ।
प्रभावित नागरिकको उपचारका लागि काठमाडौंंबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिए । उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन भइरहेको बताए । रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको उनले जानकारी दिए ।
बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले प्रभावित नागरिकको साथमा सरकार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया