काठमाडौं । भोटेकोसी नदीमा बाढी आएको सातौँ दिन पनि प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी छ ।
नेपाली सेनाले भारतीय, चिनियाँ र दक्षिण कोरियाली विज्ञ तथा प्राविधिक टोलीको सहयोगमा सुरुङभित्र खोजी गरिरहेको छ ।
सेनाका अनुसार चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा संयुक्त टोली करिब ५० मिटर भित्रसम्म पुगेर खोजी गरेको छ । त्यस्तै, लाङटाङ हाइड्रोको सुरुङमा करिब १५० मिटर र अपर त्रिशूली–१ को सुरुङमा करिब २०० मिटर भित्रसम्म पुगेर खोजी गरिएको छ ।
त्रिशूली–३ ए आयोजनामा सुरुङको प्रवेश बिन्दु फेला परेको छ । सुरुङभित्र हावा पठाउन कम्प्रेसर प्रयोग गरिएको छ भने पानी निकाल्ने काम भइरहेको छ । तीनवटा एक्साभेटर प्रयोग गरेर वैकल्पिक बाटो करिब १५ मिटर खोलिएको छ । सुरुङभित्र प्रवेश गर्न रक ब्रेकर प्रयोग गरी ढुंगा फुटाउने काम पनि भइरहेको सेनाले जनाएको छ ।
त्रिशूली–३ बी आयोजनामा पनि विज्ञसहितको टोली खटाइएको छ । सुरुङमा प्रवेश गर्ने बाटो खोजेर एक्साभेटरको सहयोगमा खन्ने काम भइरहेको छ ।
बाढीपछि तत्काल गरिएको उद्धारका क्रममा विभिन्न विद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार रसुवागढीबाट २, माथिल्लो त्रिशूली–१ बाट ३३, माथिल्लो त्रिशूली–३ ए बाट २२१, माथिल्लो त्रिशूली–३ बी बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ र देवघाट जलविद्युत् आयोजनाबाट ५ जनाको उद्धार गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया