बेपत्ताको खोजी र शव पहिचानमा यस्तो छ प्रहरीको सक्रियता

लोकपथ
70
Shares

काठमाडौं । नेपाल प्रहरीले रसुवा बाढीबाट प्रभावितको खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले विपद्पछिको अवस्थालाई सम्बोधन गर्न प्रहरी संगठन अहोरात्र खटिएको जानकारी दिए ।

प्रहरीका अनुसार फेला परेका शवको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको छ । बेपत्ता व्यक्तिको खोजीका लागि अनलाइनमार्फत निवेदन दिने व्यवस्था मिलाइएको छ भने घाइतेहरूको विवरण प्रहरीको फेसबुक पेजमार्फत नियमित अद्यावधिक भइरहेको छ ।

हराइरहेका व्यक्तिको हुलिया र तीनपुस्ते विवरणका आधारमा अस्पतालसँग समन्वय गरी पहिचानको काम भइरहेको डीआईजी काफ्लेले बताए । सम्पर्कविहीन विदेशी पर्यटकको खोजी तथा विवरण संकलनका लागि एसएसपीको नेतृत्वमा पर्यटक प्रहरीसमेत परिचालन गरिएको छ ।

नेपाल टेलिकमसँगको समन्वयमा बेपत्ता व्यक्तिहरूको अन्तिम लोकेसन ‘ट्याली’ गरी खोजी कार्यलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ । नदी किनारमा रहेका शवको खोजी तथा पहिचानका लागि ड्रोनको प्रयोगसमेत भइरहेको छ ।

प्रहरीले विपद्को मौका छोपेर हुने चोरी, लुटपाटलगायत आपराधिक गतिविधिमाथि पनि निगरानी बढाएको छ । चितवनमा एक महिलाको शवबाट सुनका गरगहना निकाल्दै गरेका व्यक्तिहरूलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । त्यस्तै, बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर चोरी गर्न खोज्ने २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको काफ्लेले जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत भ्रम र अफवाह फैलाउने व्यक्तिहरूको पहिचान गरी निगरानी भइरहेको प्रहरीले जनाएको छ । अवरुद्ध मुख्य राजमार्ग खुलाउन पनि प्रहरी टोली निरन्तर परिचालन गरिएको र धादिङलगायतका स्थानमा सडक सञ्चालनमा ल्याइएको काफ्लेले बताए ।

काठमाडौंको टिचिङ अस्पताल, पोखरा र चितवनलगायत स्थानमा शव व्यवस्थापन तथा हस्तान्तरणको प्रक्रिया सुरु गरिएको छ । पहिचान हुन नसकेका शवका हकमा नयाँ पारित कार्यविधिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ ।

उद्धार तथा खोजीका क्रममा प्राविधिक र भौतिक चुनौती रहेको प्रहरीले जनाएको छ । खोला किनारको दलदलमा हिँड्न सहज हुने विशेष बुट, वायरलेस ट्र्याकिङ डिभाइस तथा कम्तीमा १०० किलो तौल बोक्न सक्ने क्षमताका ड्रोन आवश्यक रहेको काफ्लेले बताए ।

प्रभावित क्षेत्रमा थप फरेन्सिक चिकित्सकको आवश्यकता रहेको र शव सुरक्षित राख्न ‘रेफ्रिजरेटिङ कन्टेनर’ व्यवस्थाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयहरूको सक्रियतामा शव व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?