माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्रको टोलीले गर्‍यो उद्धार

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ।

शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो । त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो ।

सीमा सुरक्षा चौकी टिमुरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो । उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको जनाइएको छ ।

चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ । उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको छ । तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ ।

माटोमुनिबाट आएको बालिकाको रोएको आवाज सुनेर समयमै उद्धार गर्न सफल हुनुले उद्धार टोलीको सतर्कता र खोजी कार्यको महत्त्व झनै देखाएको छ ।

बाढी–पहिरो प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?