अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको सकुशल उद्धार

लोकपथ
0
Shares

काठमाडौं । विनाशकारी बाढीको उच्च जोखिमबीच अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बु्धबारदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले केही बेर अगाडि टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ । अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका अनुसार टनेलभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १–३ को सैन्य टोली अहोरात्र खटिएको बताइएको छ ।

​यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर पनि सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ । सी क्यू आर टी धुन्चे ब्यारेक (रसुवा) बाट सह सेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १–५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकु वेशीका विभिन्न स्थानहरूबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?