रसुवा बाढी अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीरताका साथ हेर्नुपर्छ : अर्जुननरसिंह केसी

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवा बाढीबारे अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता केसीले जलवायु प्रणालीको गडबडीसँग समेत जोडिएको विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासो लिनुपर्ने बताए ।

‘हामी तल्लो तटीय क्षेत्र (Lower Riparian Side) का भुक्तभोगी पीडित मात्र हौँ । यो जलवायु प्रणालीको गडबडीसँग समेत जोडिएको विषय हो । यस विषयमा वर्ष सुरु हुनु अघिनै पनि संसदमा मैले गम्भीरता साथ उठाएको थिए । यसमा नेपालले पाउनुपर्ने क्षतिपूर्तिका लागि सरकारले अविलम्ब कूटनीतिक पहल गर्नुपर्छ,’ उनले भनेका छन् ।

हालसम्म २ खर्ब बढीको भौतिक क्षति भएको औँल्याउँदै नेता केसीले तत्काल विकास साझेदार र अन्तर्राष्ट्रिय दाताहरुको सम्मेलन आयोजना गर्नु आवश्यक रहेको बताए ।

‘२ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानीको अनुमान रहेकाले सरकारले तत्काल विपत्तिको आवश्यक मूल्याङ्कन Post-disaster needs assessment (PDNA) यथा सिघ्र तयार गरी विकास साझेदार र अन्तर्राष्ट्रिय दाताहरूको सम्मेलन आयोजना गर्न अति आवश्यक छ।
​यस हृदयविदारक क्षणमा शोकलाई शक्तिमा बदल्दै धैर्यधारण गर्न म सबैमा विनम्र अनुरोध गर्दछु। अघिपछिका राजनीतिक तथा व्यक्तिगत तिक्तता आग्रह पुर्बाग्रह पन्छाएर सद्भाव र सहकार्यको वातावरण बनाउनु आजको प्रमुख आवश्यकता हो,’ उनले भनेका छन् ।

विपदको यो घडीमा राजनीतिक र व्यक्तिगत तिक्तता र पूर्वाग्रह हटाउँदै सद्भाव र सहकार्यको वातावरण बनाउन समेत आग्रह गरेका छन् ।

नेता केसीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् :

भाद्र १० गते चीनको तिब्बतबाट सुरु भई रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म फैलिएको अभूतपूर्व कहालीलाग्दो बाढी र जलप्रलयले पुर्‍याएको अपूरणीय क्षतिले सिङ्गो देश स्तब्ध र मर्माहत भएको छ। भौतिक सम्पत्तिको नोक्सानी कालक्रममा पुनर्भरण होला, तर अनायासै जीवन गुमाएका हाम्रा प्रियजनहरूको क्षति सधैँका लागि अपूरणीय रहनेछ।
​एक हजारभन्दा बढी नागरिक अझै बेपत्ता छन् भने हालसम्म दुई सयभन्दा बढी शव भेटिएका छन्। हराइरहेका प्रियजनको पर्खाइमा तड्पिएका परिवारको वेदना शब्दमा व्यक्त गर्न सकिँदैन। ४० किलोमिटर सडक, २४ पुल, ४५० मेगावाट बिजुली, बैंकका शाखा र टेलिफोन टावरहरू सखाप भएका छन्। भौतिक संरचना शुन्यमा झरेको छ। मैले जीवनमा अनेकौँ संकट देखेँ,भोगे तर अनायासै यति कठोर प्रलय आउला भन्ने आँकलन गरेको थिइनँ।
​हामी तल्लो तटीय क्षेत्र (Lower Riparian Side) का भुक्तभोगी पीडित मात्र हौँ।
अन्तर्राष्ट्रिय समुदायले यसलाई गम्भीर चासो र संवेदनशीलताका साथ हेर्नु जरुरी छ। यो जलवायु प्रणालीको गडबडीसँग समेत जोडिएको बिसय हो। यश विषयमा बर्षा सुरु हुनु अगिनै पनि सन्सदमा मैले गम्भीरता साथ उठाएको थिए । यस्मा नेपालले पाउनुपर्ने क्षतिपूर्तिका लागि सरकारले अविलम्ब कूटनीतिक पहल गर्नुपर्छ।
२ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानीको अनुमान रहेकाले सरकारले तत्काल विपत्तिको आवश्यक मूल्याङ्कन Post-disaster needs assessment (PDNA) यथा सिघ्र तयार गरी विकास साझेदार र अन्तर्राष्ट्रिय दाताहरूको सम्मेलन आयोजना गर्न अति आवश्यक छ।
​यस हृदयविदारक क्षणमा शोकलाई शक्तिमा बदल्दै धैर्यधारण गर्न म सबैमा विनम्र अनुरोध गर्दछु। अघिपछिका राजनीतिक तथा व्यक्तिगत तिक्तता आग्रह पुर्बाग्रह पन्छाएर सद्भाव र सहकार्यको वातावरण बनाउनु आजको प्रमुख आवश्यकता हो।
यस संकटको महासागरबाट मुक्ति दिलाउने प्रयत्नमा हिजै सम्सद मा आफ्नो बिचार प्रस्तुत गरेको थिए र हिजै नुवाकोट जिल्लामा घटना स्थलहरुमा पुग्नु को साथै स्थानीय प्रसासन सग पनि साथिहरुको भावना को प्रतिनिधित्व गरेको थिए । हामी आफ्नो सम्पूर्ण क्षमताका साथ उद्धार र राहतमा समर्पित हुनेछौं ।
​उद्धार तथा राहत कार्यलाई द्रुत, संवेदनशील र प्रभावकारी बनाउन सरकारले तत्काल उच्चस्तरीय आपत्कालीन राहत तथा पुनर्निर्माण कार्यदल गठन गरी निम्न कार्यहरूलाई प्राथमिकता दिनुपर्छ:
​एकीकृत खोजी तथा उद्धार: सेना, प्रहरी र स्थानीय प्रशासनको संयुक्त टोलीमार्फत बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिने।
​अस्थायी आवास र खाद्यान्न: विस्थापितहरूका लागि सुरक्षित सेल्टर, न्यानो लुगा, खाद्यान्न र शुद्ध खानेपानीको तत्काल प्रबन्ध गर्ने।
​स्वास्थ्य तथा महामारी नियन्त्रण: सम्भावित रोग नियन्त्रण गर्न र घाइतेको उपचारका लागि मोबाइल मेडिकल टोली परिचालन गर्ने।
​पूर्वाधार मर्मत र कूटनीतिक समन्वय: अवरुद्ध बिद्युत गृह सडक तथा पुलको द्रुत मर्मत गर्ने र उत्तरी छिमेकी चीनसँग हिमताल एवं नदीको अवस्थाबारे निरन्तर पूर्वसूचना समन्वय कायम राख्ने।
​यो प्राकृतिक विपत्तिमा सम्पूर्ण राजनीतिक दल, प्रदेश र स्थानीय सरकारहरू विवाद थाती राखेर एकजुट हुनु राष्ट्रिय आबस्यक्ता हो।
​यस महाविपत्तिमा ज्यान गुमाउने सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको कुशल उद्धारको कामना गर्दछु। यो कठिन समयमा धैर्य रहौँ, आपसमा हातेमालो गरौँ र पुनरुत्थानको बाटोमा एक ढिक्का भएर अघि बढौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?