काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको तोकिएको महाधिवेशन रोक्नुपर्ने मागसहित परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
बिहीबार सर्वोच्चका न्यायाधीशत्रय नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखेरलको इजलासले यस्तो आदेश जारी गरेको हो ।
सर्वोच्चको आदेशपछि प्रवक्ता अर्जुन कोइरालाले देउवा र खड्काको निवेदनमा अन्तरिम आदेश नभएको बताए ।
‘पुरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग थियो । तीन सदस्यीय पूर्ण इजलासले त्यो मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ,’ उनले भने ।
सर्वोच्चको आदेशसँगै आगामी असोजको दोस्रो सातादेखि हुने भनिएको कांग्रेस महाधिवेशनका लागि थप काम गर्न बाटो खुलेको छ ।
सर्वोच्चले पुनरवलोकनको निवेदनको रोहमा जस्तोसुकै आदेश हुने भए पनि अहिले अन्तरिम आदेश नहुने भनेको हो ।
गत माघमा कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी नेतृत्वमा आएका थिए । तर देउवा समूहले भने महाधिवेशनबाट निर्वाचित सभापति थापालाई अस्वीकार गर्दै आइरहेका छन् ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने तय गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया