काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट उत्पन्न संकट सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोत व्यवस्थापन गरिरहेको जानकारी दिए ।
उनका अनुसार बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धार कार्य तीव्र पारिएको छ । भौगोलिक तथा मौसमी प्रतिकूलताका बाबजुद हाल २२ वटा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी रहेको उनले बताए ।
विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय रहेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए । उनका अनुसार विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको छ । चीन, भारत, जापान, एसियाली विकास बैंक तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले बताए ।
वाग्लेले चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात रहेको बताए । त्यसैले तत्काल उद्धार र राहतका लागि स्रोत–साधनको कमी नहुने उनको भनाइ छ ।
उनले विपद्को सामना गर्न सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्र सबै एकीकृत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रारम्भिक तथ्यांकअनुसार विपद्का कारण २५ वटा पक्की पुल तथा निजी क्षेत्रका करिब ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको छ । अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणकै शैलीमा वैज्ञानिक तथ्य र अध्ययनका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने बताए ।
राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिनु नेपाली राजनीतिको मौलिक चरित्र भएको भन्दै उनले दलहरूबीच देखिएको एकतालाई सकारात्मक रूपमा लिएको बताए ।
नवलपुर र चितवनलगायतका क्षेत्रमा भेटिएका शवको व्यवस्थापन तथा बेपत्ताहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया