प्रदीप गिरीको स्मृतिमा नेपाली कांग्रेसद्वारा ‘फेलोसिप’ र निबन्ध पुरस्कार घोषणा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फिलोसफी’ फेलोसिप र ‘निष्ठामूलक असहमति’ वार्षिक निबन्ध पुरस्कार घोषणा गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हिल टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले उक्त घोषणा गरेका हुन् ।

स्वर्गीय गिरीको चौथो वार्षिक स्मृति दिवसका अवसरमा कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा कार्यक्रम सुरु गरिएको हो ।

सभापति थापाका अनुसार गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई विधामा फेलोसिप प्रदान गरिनेछ ।

‘प्रदीप गिरी फिलोसफी’लाई ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म र न्याय’ गरी दुई भागमा विभाजन गरिएको छ । विचार, अध्ययन र अनुसन्धानअन्तर्गत चार जना अध्येतालाई फेलोसिप प्रदान गरिनेछ। नेपाली राजनीति, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता, दर्शन र साहित्यका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन तथा दस्तावेजीकरणका लागि सहयोग उपलब्ध गराइनेछ ।

त्यस्तै, ‘कर्म र न्याय’ अन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई फेलोका रूपमा छनोट गरिनेछ । उनीहरूले एक वर्षसम्म कानुनी सहायता डेस्क सञ्चालन गरी जातीय विभेद, भूमि विवाद र नागरिकताबाट वञ्चित सीमान्तकृत तथा दलित समुदायका कम्तीमा २० वटा मुद्दामा निःशुल्क कानुनी पैरवी गर्नेछन् ।

गिरीको राजनीतिक संस्कार र आलोचनात्मक चेतनाको सम्मान गर्दै कांग्रेसले ‘निष्ठामूलक असहमति’ नामक वार्षिक निबन्ध पुरस्कार पनि घोषणा गरेको छ । आफ्नो दल, संस्था वा विचारधाराको रचनात्मक आलोचना गर्दै लेखिएको उत्कृष्ट निबन्धलाई यो पुरस्कार प्रदान गरिनेछ ।

यो फेलोसिप कुनै राजनीतिक दलमा आबद्ध भए वा नभएका सबै योग्य नेपाली नागरिकका लागि खुला रहनेछ । आगामी कात्तिक २४ गतेदेखि आवेदन खुला गरिने कांग्रेसले जनाएको छ ।

फेलो छनोट प्रक्रिया निष्पक्ष बनाउन कुनै पनि राजनीतिक दलको बहालवाला पदमा नरहेका व्यक्तिहरू सम्मिलित स्वतन्त्र निर्णायक समिति गठन गरिनेछ। फेलोहरूको छनोट मंसिर मसान्तभित्र गरिने र कार्यक्रम हरेक वर्ष निरन्तर सञ्चालन हुने कांग्रेसले जनाएको छ ।

सभापति थापाले प्रदीप गिरीलाई सम्झिँदै कांग्रेसले ‘निष्ठामूलक असहमति’लाई पनि सँगसँगै अघि बढाएको बताए । उनले गिरीको असहमति केवल आलोचना वा पूर्ण समर्थनभन्दा फरक रहेको उल्लेख गरे ।

यस पहलले सीमान्तकृत, महिला तथा दलित समुदायका आवेदकलाई विशेष प्रोत्साहन गर्दै नेपाली राजनीतिमा बौद्धिक विमर्श र सामाजिक न्यायका मुद्दालाई थप बलियो बनाउने विश्वास कांग्रेसले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?