होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, ६ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान होस्टलमै १८ वर्षीय एक किशोर र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप पाँच जनालाई समेत नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि, घटनामा संलग्न भनिएका प्रमित पटेल भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?