रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, मूल्य कति ?

लोकपथ
0
Shares

काठमाडौं । रोयल इन्फिल्डले गोरखा समुदायको साहस र वीरताबाट प्रेरित क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो मोटरसाइकल नेपालको गोरखा इतिहास र पहिचानलाई ध्यानमा राखेर तयार गरिएको हो । मोटरसाइकलमा विशेष गोरखा ग्रीन रङ र गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको चिन्ह राखिएको छ ।

क्लासिक ३५० को पुरानै डिजाइनलाई कायम राख्दै नयाँ संस्करणमा गोरखा विरासत झल्काउने केही विशेष डिजाइन थपिएको छ । यसमा क्लासिक सिरिजकै जे–सिरिज इन्जिन, अपराइट राइडिङ पोस्चर र असिस्ट एन्ड स्लिपर क्लच दिइएको छ ।

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपाली राइडरमाझ लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग जोडिएको गोरखा विरासतलाई सम्मान गर्न खोजिएको उनको भनाइ छ ।

नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले पनि गोरखा एडिसनले नेपालको इतिहास र पहिचानलाई नयाँ ढंगले प्रस्तुत गर्ने बताए ।

कम्पनीले मोटरसाइकलसँगै गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ । यसमा राइडिङ गियर, बुट, हेल्मेट, हेडगियर र विभिन्न लाइफस्टाइल सामग्री समावेश छन् । कलेक्सनमा क्रस खुकुरी, नेपाली ढाका र हस्तकलाबाट प्रेरित डिजाइन प्रयोग गरिएको छ ।

क्लासिक ३५० गोरखा एडिसनको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल नेपालभरका रोयल इन्फिल्डका आधिकारिक डिलरबाट बिक्री हुनेछ ।

रोयल इन्फिल्डले सन् १९०१ देखि मोटरसाइकल उत्पादन गर्दै आएको छ । कम्पनीले क्लासिक, बुलेट, हन्टर, हिमालयन, इन्टरसेप्टरलगायत विभिन्न मोडल बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?