भदौ लागेसँगै फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

लोकपथ
805
Shares

काठमाडौं । भदौ महिना लागेसँगै अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य सार्वजनिक गरेको हो ।

चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार सबै प्रकारका अन्डाको भाउ बढेको छ । संघका अनुसार अब एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अन्डाको ५७५ रुपैयाँ र मिडियम अन्डाको ५३५ रुपैयाँ पुगेको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

संघले एक सातामै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो । यसअघि गत साउन ३० गतेदेखि लागू हुने गरी एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५७५ रुपैयाँ, ठूलो अन्डा ५६० रुपैयाँ र मिडियम अन्डा ५२० रुपैयाँ तोकिएको थियो ।

पछिल्लो समय अन्डाको मूल्य लगातार बढ्दै गएको छ । संघले साउन महिनामा मात्रै अन्डाको समर्थन मूल्य चार पटक वृद्धि गरेको थियो । साउनको सुरुवातमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ रहेकोमा साउनको अन्तिमसम्म आइपुग्दा ५७५ रुपैयाँ पुगेको थियो ।

भदौ लागेसँगै फेरि १५ रुपैयाँ बढेपछि एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?