काठमाडौं । सरकारले बिजुलीको महसुल घटाएर विद्युत् खपत बढाउने तयारी थालेको छ ।
वर्षायाममा विद्युत् उत्पादन बढ्दा मागअनुसार खपत हुन नसकेर बिजुली खेर जाने अवस्था दोहोरिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकनका लागि समिति गठन गरिएको थियो । प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक बुधबार अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ ।
बैठकमा विद्युत् महसुल घटाउने सम्भावित उपाय तथा त्यसबाट आन्तरिक विद्युत् खपत बढाउन सकिने विषयमा छलफल हुने बताइएको छ । समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधिसहित नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञ सदस्य छन् ।
समितिले विशेषगरी वर्षायाममा खेर जाने विद्युत्लाई आन्तरिक बजारमै अधिकतम उपयोग गर्ने गरी महसुल संरचना परिवर्तनका विकल्पमाथि छलफल गरिरहेको छ ।
समितिका संयोजक शाहीका अनुसार वर्षायाममा उत्पादन बढ्दा मागअनुसार विद्युत् खपत हुन नसक्दा ठूलो परिमाणमा बिजुली खेर जाने गरेको छ । यसबाट प्राधिकरणले नियमित आम्दानी गुमाउनुका साथै मासिक रूपमा नोक्सानीसमेत व्यहोर्नुपरेको छ ।
समस्या समाधानका लागि ‘सिजनल ट्यारिफ’ अर्थात् मौसमअनुसार फरक महसुल दर लागू गर्ने अवधारणामाथि काम भइरहेको शाहीले बताए । यस्तो व्यवस्था लागू भए वर्षायाममा तुलनात्मक रूपमा सस्तो दरमा बिजुली उपलब्ध गराएर घरायसी तथा अन्य उपभोक्ताको विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ ।
यस्तै, उद्योगलाई समेत सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी भइरहेको छ । सस्तो विद्युत्का कारण उद्योगको उत्पादन लागत घटेपछि त्यसको लाभ उपभोक्तासम्म पुर्याउने विषयमा समेत सम्बन्धित पक्षसँग समन्वय भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया