काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा ४० लाख रुपैयाँ आसपासको मूल्यमा नयाँ एसयूभी विकल्प थपिँदैछ ।
एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ नामीको नयाँ भेरियन्ट ‘नामी भिगो ई२’ सार्वजनिक गर्दैछ । जुन भोलि बुधबारदेखि नेपाली बजारमा औपचारिक रूपमा आउनेछ ।
नेपालमा यसअघि नै उपलब्ध ‘नामी भिगो ई२ प्लस’को सफलतापछि कम्पनीले तुलनात्मक रूपमा कम मूल्य र केही कम स्पेसिफिकेसनसहित नयाँ भेरियन्ट नेपाली बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार यसको सुरुवाती मूल्य ३९ लाखदेखि ४० लाख रुपैयाँको हाराहारीमा रहने अनुमान गरिएको छ ।
मूल्यका हिसाबले किफायती भए पनि ‘नामी भिगो ई२’को पावरमा भने ठूलो सम्झौता गरिएको छैन । यसमा ९९ किलोवाटको फ्रन्ट–ह्विल ड्राइभ मोटर छ, जसले १८१ हर्सपावर र २९० एनएम टर्क उत्पादन गर्छ । गाडीले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति ३.६ सेकेन्डमा र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ७.८ सेकेन्डमा पूरा गर्ने दाबी गरिएको छ ।
गाडीमा ४४.९४ किलोवाट घण्टाको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक राखिएको छ ।
एकपटक पूर्ण चार्ज गर्दा डब्लुएलटीपी मानकअनुसार ३०० किलोमिटर र सिएलटीसी मानकअनुसार ४०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
ईभी प्रयोगकर्ताका लागि चार्जिङ समय पनि महत्वपूर्ण पक्ष हो। ‘नाम्मी भिगो ई टु’लाई डिसी फास्ट चार्जरमार्फत ३० देखि ८० प्रतिशतसम्म १८ देखि ३० मिनेटमा चार्ज गर्न सकिने बताइएको छ ।
१९० मिमि ग्राउन्ड क्लियरेन्स, ५०० लिटर बुट
नाम्मी भिगो ई टुलाई केवल सहर केन्द्रित इलेक्ट्रिक कारका रूपमा नभई एसयूभीको रूपमा प्रस्तुत गरिएको छ। यसको लम्बाइ ४,३०६ मिमि, चौडाइ १,८६८ मिमि र उचाइ १,६४५ मिमि छ। २,७१५ मिमिको ह्विलबेस रहेको गाडीमा १९० मिमिको ग्राउन्ड क्लियरेन्स छ ।
नेपालजस्तो सडक पूर्वाधार मिश्रित रहेको बजारमा यही ग्राउन्ड क्लियरेन्स यसको महत्वपूर्ण आकर्षण बन्न सक्छ। गाडीमा ५०० लिटरको बुट स्पेस छ, जसलाई पछाडिका सिट फोल्ड गरेपछि १,०४० लिटरसम्म विस्तार गर्न सकिन्छ।
कम मूल्यको भेरियन्ट भए पनि गाडीमा आधुनिक सुरक्षा तथा सुविधा प्रविधि समावेश गरिएको छ । यसमा ३६० डिग्री क्यामेरा, अटो पार्किङ असिस्ट र लेभल–२ एडीएएस प्रणाली उपलब्ध छ ।
केबिनमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, भेन्टिलेटेड तथा हिटेड लेदर सिटलगायतका सुविधा छन् । त्यस्तै, गाडीको ब्याट्रीबाट बाहिरी विद्युतीय उपकरण सञ्चालन गर्न सकिने भीटुएल प्रविधि पनि दिइएको छ ।
चिनियाँ बजारमा ‘नामी ०६’ नामबाट बिक्री हुने यो गाडीको सुरुआती मूल्य ८९,९०० युआनबाट सुरु हुन्छ । नेपालमा भने यसको माथिल्लो भेरियन्ट ‘नामी भिगो ई टु प्लस’को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ छ ।
ई टु प्लसको तुलनामा नयाँ ई टुमा ब्याट्री क्षमता र केही सुविधाहरू कम भए पनि करिब ३९–४० लाख रुपैयाँको अनुमानित मूल्यमा १८१ हर्सपावरको इलेक्ट्रिक एसयूभी उपलब्ध हुनु यसको मुख्य आकर्षण बन्ने देखिन्छ ।
एमएडब्लू वृद्धिका अनुसार नेपालमा हालसम्म २,००० भन्दा बढी नाम्मी गाडी सञ्चालनमा छन्। मनाङ, मुस्ताङ र शुक्लाफाँटाजस्ता चुनौतीपूर्ण गन्तव्यमा समेत नाम्मीका गाडीले यात्रा गरिसकेको कम्पनीको भनाइ छ ।
यससँगै नेपाली ईभी बजारमा अब प्रतिस्पर्धा केवल रेन्ज र ब्याट्री क्षमतामा मात्र सीमित नरही मूल्य, एसयूभी डिजाइन, ग्राउन्ड क्लियरेन्स, पावर र प्रविधिको संयोजनमा समेत केन्द्रित हुने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया