काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा थप घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ५ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँ कम हो ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको खुद नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो । त्यसको तुलनामा गत आर्थिक वर्ष नाफा करिब ४३ प्रतिशतले घटेको हो ।
प्राधिकरणको आम्दानी बढे पनि खर्च धेरै बढेकाले नाफामा कमी आएको देखिन्छ । विशेषगरी विद्युत् खरिद, सञ्चालन र ब्याजलगायतका खर्च बढेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत् निर्यातबाट मात्रै १७ अर्ब ४७ करोड १० लाख रुपैयाँ आम्दानी भएको थियो । अन्य आम्दानीसमेत जोड्दा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ पुगेको थियो ।
तर, सोही वर्ष प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च मात्रै ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १०.१५ प्रतिशत बढी हो ।
प्राधिकरणको खर्चमध्ये ठूलो रकम विद्युत् खरिदमा गएको छ । आर्थिक वर्ष २०८१/८२ मा विद्युत् खरिदका लागि प्राधिकरणले ७७ अर्ब १० करोड रुपैयाँ खर्च गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११.७३ प्रतिशत बढी हो ।
विद्युत् बिक्रीबाट हुने आम्दानी बढे पनि विद्युत् खरिद तथा अन्य खर्चमा भएको वृद्धिले नाफा बढ्न सकेको छैन । खर्च बढ्दै जाने र त्यसअनुसार नाफा नबढ्दा प्राधिकरणको वित्तीय अवस्थामा दबाब बढेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया