बाढीपहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध, यातायात प्रभावित

लोकपथ
0
Shares

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा बाढीपहिरो तथा सडक कटान हुँदा यातायात प्रभावित भएको छ ।

प्रहरी प्रधान कार्यालयले शनिबार बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन अवरुद्ध भएको जनाएको हो ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमलाई ध्यानमा राखी दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रोल्पाको थबाङ गाउँपालिका–२ लाप्लेभिर र दबाङमा भूक्षय तथा पहिरोका कारण घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?