कृषि विकास बैंकको ब्याज आम्दानी ९ अर्ब नाघ्दा पनि नाफा २९ प्रतिशत घट्यो

लोकपथ
14
Shares

काठमाडौं । कृषि विकास बैंकको खुद ब्याज आम्दानी ९ अर्ब रुपैयाँ नाघे पनि गत आर्थिक वर्ष २०८२–०८३ मा बैंकको खुद नाफामा करिब ३० प्रतिशतको गिरावट आएको छ ।

बैंकले असार मसान्तसम्म २ अर्ब ६३ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.३१ प्रतिशत कम हो । नाफा घटेसँगै बैंकको वितरणयोग्य मुनाफा र प्रतिशेयर आम्दानीसमेत दबाबमा परेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा बैंकको खुद नाफा ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ थियो । आम्दानीका प्रमुख स्रोतमा सुधार देखिए पनि खर्च तथा इम्पेयरमेन्ट चार्ज बढ्दा त्यसको प्रत्यक्ष असर नाफामा परेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ९.२४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ८ अर्ब ३५ करोड २ लाख ६९ हजार रुपैयाँ रहेकोमा अहिले आम्दानी बढेर ९ अर्ब १२ करोड १५ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि ७.१९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १० अर्ब ५१ करोड ३० लाख २ हजार रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी गत आर्थिक वर्षमा बढेर ११ अर्ब २७ करोड २ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

तर, आम्दानी बढ्दै गर्दा खर्चतर्फको दबाब भने थपिएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ६३ करोड ७७ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिले बैंकको नाफामा दबाब सिर्जना गरेको देखिन्छ ।

यसको असर बैंकको सञ्चालन मुनाफामा पनि परेको छ ।

समीक्षा अवधिमा सञ्चालन मुनाफा २५.५० प्रतिशतले घटेर ५ अर्ब ३६ करोड ८१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा ७ अर्ब २० करोड रुपैयाँभन्दा बढी थियो ।

नाफामा आएको गिरावटसँगै बैंकको लाभांश क्षमता पनि कमजोर बनेको छ । विभिन्न कोष तथा नियमनकारी समायोजनपछि गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ८१ करोड ६६ लाख ६९ हजार रुपैयाँ थियो ।

यसअनुसार बैंकको वार्षिक प्रतिशेयर वितरणयोग्य मुनाफा ६.५४ रुपैयाँमा सीमित भएको छ । वितरणयोग्य मुनाफामा आएको गिरावटले आगामी लाभांश वितरणमा समेत दबाब पर्न सक्ने देखिन्छ ।

नाफा घटेपछि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । अघिल्लो आर्थिक वर्ष २४.५९ रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्षमा घटेर १६.१६ रुपैयाँमा झरेको छ ।

बैंकको खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्ष ३.४४ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) अनुपात समीक्षा अवधिमा बढेर ४.०७ प्रतिशत पुगेको छ । ब्याज आम्दानी र व्यवसाय विस्तारमा सुधार आए पनि खराब कर्जामा आएको वृद्धिलाई भने बैंकका लागि चुनौतीका रुपमा हेरिएको छ ।
यता, बैंकको आधार दरमा भने उल्लेख्य कमी आएको छ ।

अघिल्लो वर्ष ५.८७ प्रतिशत रहेको आधार दर घटेर ४.५६ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेड दर ३.६६ प्रतिशत र पुँजी कोष अनुपात १३.२९ प्रतिशत कायम रहेको छ ।

व्यवसाय विस्तारतर्फ बैंकले निक्षेप तथा कर्जा दुवै बढाएको छ । १९ अर्ब ३८ करोड २३ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले असार २०८३ सम्ममा २ खर्ब ५७ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा बैंकको कुल कर्जा लगानी २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?