सिटिजन्स बैंकको खुद नाफा २ अर्ब ९ करोड नाघ्यो, प्रतिशेयर आम्दानी पनि बढ्यो

लोकपथ
21
Shares

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ थियो ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ८ रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ ।

बैंकको नाफा बढ्नुमा खराब कर्जाका लागि छुट्याउनुपर्ने इम्पेयरमेन्ट खर्च घट्नु मुख्य कारण देखिएको छ । अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको यस्तो खर्च गत वर्ष ८२ करोड ९४ लाख रुपैयाँमा झरेको छ । अर्थात् इम्पेयरमेन्ट खर्च करिब ६९ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकको निक्षेप संकलनको लागत पनि घटेको छ । कस्ट अफ डिपोजिट ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा आएको छ भने आधारदर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशत कायम भएको छ ।

बैंकको नेट फी तथा कमिशन आम्दानी ६.३३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड २३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, नेट ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी ५१.१२ प्रतिशतले बढेर ६२ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ । अघिल्लो वर्ष ४.८९ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ५.८८ प्रतिशत पुगेको छ ।

बैंकको टियर–१ पुँजी पर्याप्तता अनुपात ८.९५ प्रतिशतबाट बढेर ९.२३ प्रतिशत पुगेको छ। कुल पुँजी पर्याप्तता अनुपात भने १२.४७ प्रतिशत कायम छ ।

नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था र आवश्यक समायोजनपछि बैंकको वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ, जुन चुक्ता पुँजीको ३.३७ प्रतिशत बराबर हो । बैंकले वितरणयोग्य नाफा कम देखिनु सञ्चालन तथा नाफा क्षमतामा आएको कमी नभई नियामकीय समायोजनका कारण भएको जनाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ खर्ब ३३ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी भने १ खर्ब ७७ अर्ब ३३ करोड २२ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?