काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन् ।
परियोजनाको कार्यान्वयनका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कुल ८० करोड ३० लाख रुपैयाँ अनुमानित लागतका यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

समझदारीअनुसार सञ्चालन हुने परियोजनामा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण, धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगरीय कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण र मोरङको बेलबारी नगरपालिका–३ स्थित बेलबारी बहुमुखी क्याम्पस भवन निर्माण रहेका छन् ।
यसैगरी दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्र, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर तथा सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ ।
भारत सरकारले सन २००३ देखि नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत सहयोग गर्दै आएको छ ।
आज हस्ताक्षर भएका ८ परियोजनासहित नेपालमा भारतको सहयोगमा अघि बढाइएका यस्ता परियोजनाको संख्या ६०५ पुगेको छ ।
यीमध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा सार्वजनिक उपयोगितासँग सम्बन्धित ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।

भारत र नेपालबीचको बहुआयामिक सहकार्यअन्तर्गत सञ्चालन हुँदै आएका यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माण तथा सेवा विस्तारमा योगदान पुर्याउँदै आएका छन् । नयाँ परियोजनाले पनि शिक्षा, स्वास्थ्य र कृषि जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्दै स्थानीयस्तरको विकास र समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया