ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार

लोकपथ
28
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजना अस्वीकार गरेका छन् ।

उनले हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन् ।

आइतबार बसेको इजरायली मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले इजरायलले १५ बुँदे दस्तावेज स्वीकार नगर्ने बताएका हुन् ।

‘इजरायलले १५ बुँदे दस्तावेजलाई अस्वीकार गर्छ, ‘नेतन्याहूले भने। उनका अनुसार हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना फिर्ता हुने छैन ।

उनले इजरायली सेना तथा नागरिकमाथि हुन सक्ने खतरालाई रोक्न सैन्य कारबाही जारी राख्ने पनि बताएका छन् ।

ट्रम्पको ‘बोर्ड अफ पिस’ले गत महिना गाजामा हमाससहित अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सहमति भएको जनाएको थियो । योजनामा हमासको निशस्त्रीकरणसँगै इजरायली सेनाको गाजाबाट चरणबद्ध फिर्ती र युद्धबाट प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत विषय समेटिएका थिए ।

तर, हमासले भने आफ्ना हतियार त्याग्ने विषय इजरायलले गाजामा सबै प्रकारका आक्रमण अन्त्य गर्ने र त्यहाँबाट आफ्ना सेना फिर्ता गर्ने सुनिश्चिततासँग जोडिएको बताउँदै आएको छ ।

हमासका एक अधिकारीले आइतबार बीबीसीसँग कुरा गर्दै समूहले सम्झौताप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको बताए । उनका अनुसार १५ बुँदे योजना कार्यान्वयनका लागि हमास गम्भीर र जिम्मेवार ढंगले अघि बढ्न तयार छ ।

हमासले मध्यस्थकर्ताहरूलाई सम्झौतामा सबै पक्षले सहमति जनाएका विषय कार्यान्वयन हुने सुनिश्चित गर्नसमेत आग्रह गरेको छ ।

गाजामा प्रारम्भिक युद्धविरामका लागि गत अक्टोबरमा सहमति भए पनि इजरायली आक्रमण र सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको छैन । यस्तो अवस्थामा इजरायलले ट्रम्पको योजनालाई अस्वीकार गरेपछि गाजा युद्ध अन्त्य गर्ने प्रयास थप जटिल बनेको देखिएको छ ।

गत वर्ष सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको गाजा शान्ति योजनामा युद्ध अन्त्य गर्ने, हमासको निशस्त्रीकरण गर्ने, इजरायली सेना फिर्ता गर्ने र गाजाको पुनर्निर्माण गर्ने विषय समावेश थिए। योजनाको कार्यान्वयन तथा अनुगमनका लागि ‘बोर्ड अफ पिस’ गठन गर्ने प्रस्तावसमेत गरिएको थियो ।

इजरायल र हमासबीच निशस्त्रीकरण तथा सैन्य फिर्तीको विषयमा देखिएको मतभेदले उक्त शान्ति योजनाको कार्यान्वयनमा थप चुनौती उत्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?