बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र सेवा दिँदै तनहुँ प्रशासन

लोकपथ
28
Shares

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चाप बढेपछि सार्वजनिक बिदाका दिनसमेत सेवा दिन थालेको छ ।

नियमित कार्यालय समयमा विद्यालय, कलेज तथा अन्य काममा व्यस्त हुने सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

व्यास नगरपालिका–२ की अपेक्षा सुनार बिदाको दिन सेवा पाउने सेवाग्राहीमध्ये एक हुन् । सत्यवती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनलाई विद्यालय सञ्चालन हुने दिन प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र बनाउन समस्या थियो। बिदाको दिन कार्यालय खुलेपछि सहज भएको उनले बताइन् ।

‘अरू दिन विद्यालय जानुपर्छ। बिदाको दिन कार्यालय खुलेर सेवा दिएपछि धेरै सहज भयो,’ उनले भनिन् ।

राष्ट्रिय परिचयपत्र विभिन्न सरकारी सेवा तथा राहदानीलगायतका काममा आवश्यक पर्ने महत्वपूर्ण कागजात बन्दै गएपछि यसको माग बढेको छ । त्यससँगै जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या पनि पछिल्लो समय उल्लेख्य रूपमा बढेको प्रशासनले जनाएको छ ।

सेवाग्राहीको चाप अत्यधिक बढेपछि सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। उनका अनुसार शनिबार र आइतबार बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिइँदै आएको छ ।

नियमित कार्यदिनमा मात्र सेवा दिँदा विद्यार्थी, निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा अन्य व्यस्त नागरिकलाई समय व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले बिदाको दिन सेवा सञ्चालन गरिएको रेग्मीले बताए ।

सेवाग्राहीको भीड व्यवस्थापनका लागि कार्यालयले टोकन प्रणालीलाई प्राथमिकता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन आग्रह गरेका छन् ।

टोकन प्रणालीले एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा जम्मा हुने अवस्था कम गर्नुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने प्रशासनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?