काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३४ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६.१७ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ६१ करोड २० लाख रुपैयाँ थियो ।
ब्याज आम्दानी र सेवा शुल्कबाट हुने आम्दानी बढेपछि बैंकको कुल सञ्चालन आम्दानी ७.३० प्रतिशतले वृद्धि भएर ४ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३९.३४ प्रतिशतले बढेर २ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै बैंकको लाभांश दिने क्षमता पनि सुधार भएको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो रकम ५९ करोड ९२ लाख रुपैयाँ मात्र थियो । यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा २०.२३ रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर २८.०४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस २१.९६ रुपैयाँ थियो । बैंकको प्रतिशेयर नेटवर्थ १७७.२६ रुपैयाँ कायम भएको छ ।
तर, बैंकको खराब कर्जा भने सामान्य बढेको छ । अघिल्लो वर्ष ४.६६ प्रतिशत रहेको खराब कर्जा बढेर ४.७६ प्रतिशत पुगेको छ ।
बैंकको आधार दर ५.२६ प्रतिशत, स्प्रेड दर ४.०४ प्रतिशत र पुँजी कोष अनुपात १३.६३ प्रतिशत रहेको छ ।
व्यवसाय विस्तारतर्फ बैंकले असार २०८३ सम्म ९२ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७८ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया