डिजिटल कारोबार सुरक्षित बनाउन राष्ट्र बैंकले दियो यस्तो सुझाव

लोकपथ
14
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ र विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा साइबर सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआरमार्फत भुक्तानी र डिजिटल वालेट प्रयोग गर्दा आवश्यक सुरक्षा अपनाउनुपर्ने जनाएको हो ।

बैंकका अनुसार डिजिटल बैंकिङले कारोबार सजिलो, छिटो र सस्तो बनाएको भए पनि लापरवाही गर्दा साइबर ठगीको जोखिम बढ्न सक्छ । त्यसैले आफ्नो युजरनेम, पासवर्ड, पिन र ओटीपी कसैसँग पनि साझा नगर्न आग्रह गरिएको छ ।

राष्ट्र बैंकले बलियो पासवर्ड प्रयोग गर्न, समय–समयमा पासवर्ड परिवर्तन गर्न र मोबाइल नम्बर वा जन्ममिति जस्ता सजिलै अनुमान गर्न सकिने विवरणलाई पिनका रूपमा प्रयोग नगर्न सुझाव दिएको छ ।

त्यस्तै, बैंक खाता र डिजिटल वालेटमा मल्टी–फ्याक्टर अथेन्टिकेसन (पासवर्ड, पिन र ओटीपी) प्रयोग गर्न, आधिकारिक वेबसाइट र एप मात्रै प्रयोग गर्न तथा अनधिकृत एप डाउनलोड नगर्न पनि भनिएको छ ।

अपरिचित व्यक्तिसँग स्क्रिन सेयर नगर्न, सार्वजनिक वा असुरक्षित वाइफाइबाट बैंकिङ कारोबार नगर्न र मोबाइल वा कम्प्युटरमा फिङ्गरप्रिन्ट वा फेस आईडीजस्ता सुरक्षा सुविधा सक्रिय गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार साइबर अपराधीहरूले नक्कली वेबसाइट, कमजोर पासवर्ड र एउटै पासवर्ड धेरै खातामा प्रयोग गर्ने बानीको फाइदा उठाएर बैंकिङ विवरण चोरी गर्न सक्छन् । त्यसैले सबै प्रयोगकर्ताले डिजिटल बैंकिङ प्रयोग गर्दा सतर्क रहनुपर्नेमा जोड दिएको छ ।

राष्ट्र बैंकले ‘डिजिटल साक्षरता अपनाऔँ, डिजिटल अनुशासन पालना गरौँ’ भन्ने सन्देश दिँदै कुनै समस्या वा गुनासो भए वित्तीय ग्राहक संरक्षण इकाइमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?