काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको आन्तरिक चुनौती, वैचारिक स्पष्टता र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहका नेता डा.शशांक कोइरालाले ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए। उनले पार्टीलाई वैचारिक तथा सांगठनिक रूपमा नयाँ दिशा दिन भेला आयोजना गरिएको बताए ।
डा. कोइरालाले पछिल्लो एक वर्षदेखि मुलुक राजनीतिक अनिश्चितता र हिंसात्मक घटनाबाट प्रभावित भएको उल्लेख गर्दै त्यसको असर नेपाली कांग्रेसमा समेत परेको बताए । उनले २०८२ भदौ २४ गते पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि भएको आक्रमण तथा पार्टी कार्यालयहरूमा भएको तोडफोडको घटनाले पार्टीभित्र त्रासको अवस्था सिर्जना गरेको स्मरण गरे। त्यस्तो संकटको समयमा पार्टी एकताबद्ध हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ थियो ।
देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको तथा लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको टिप्पणी गरे ।
सुनसरीको देवानगञ्जबाट सुरु भएर मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएकाले त्यसको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।
डा। कोइरालाले पार्टी विधानअनुसार कार्यकाल थप गर्नुपर्ने परिस्थितिमा विशेष महाधिवेशनको प्रसंग अप्रत्याशित रूपमा उठाइँदा आन्तरिक मतभेद बढेको र त्यसले निर्वाचन परिणाममा समेत नकारात्मक प्रभाव पारेको बताए ।
उनका अनुसार राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारी, संघीय सांसद, प्रदेश र जिल्ला सभापति, भ्रातृ संस्थाका प्रतिनिधि तथा लोकतान्त्रिक आन्दोलनसँग आबद्ध बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको छ ।
पत्रकार सम्मेलनमा डा.शेखर कोइरालाको भूमिकाबारे सोधिएको प्रश्नमा डा.शशांक कोइरालाले शेखरले अभियानप्रति पूर्ण समर्थन जनाएको, तर पूर्वनिर्धारित व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिए ।
राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीचको सहकार्य नै अहिलेको प्रमुख आवश्यकता रहेको डा.कोइरालाले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया