कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ ।

आगामी राष्ट्रिय भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मूल आयोजक समिति तथा विभिन्न विषयगत उपसमितिहरू घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमा नेता मिनबहादुर विश्वकर्माले राष्ट्रिय भेला मूल आयोजक समितिमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनित केन्द्रीय पदाधिकारी र सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी, महानगर तथा नगर सभापतिहरूलाई समेटिएको जानकारी दिए ।

त्यस्तै संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा राखिएको उनले बताए ।

राष्ट्रिय भेलालाई नीतिगत तथा व्यवस्थापकीय रूपमा सफल बनाउन मूल आयोजक समितिसहित १६ वटा विषयगत समिति गठन गरिएको छ । जसअन्तर्गत समसामयिक राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन् ।

त्यसैगरी प्रचार–प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति, सांस्कृतिक समिति, सहभागी व्यवस्थापन समिति, स्वास्थ्य समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समिति गठन गरिएको छ ।

नेता विश्वकर्माले समितिहरूको नेतृत्व तथा सदस्यहरूको अन्तिम टुंगो आगामी केन्द्रीय कार्यसमिति बैठकबाट यथाशीघ्र गरिने जानकारी दिए ।

उनले राष्ट्रिय भेलाको तयारीलाई तीव्रता दिइएको उल्लेख गर्दै मूल आयोजक समितिमा रहने सदस्यहरूको नामावली तयार गर्न समय लाग्ने भएकाले पदका आधारमा पदेन सदस्यको व्यवस्था गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?