रविले भ्रम र यथार्थको मिश्रणबाट भीड बनाए, कानुनी समस्याले बालेन विकल्प बने : खगेन्द्र सङ्ग्रौला

लोकपथ
0
Shares

काठमाडौं । साहित्यकार खगेन्द्र सङ्ग्रौलाले पछिल्लो संसदीय निर्वाचनमा नेपाली समाजमा ‘भेडापन’ हाबी भएको टिप्पणी गरेका छन् । ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले उम्मेदवार र एजेन्डाबारे पर्याप्त जानकारी नलिई भीडको प्रभावमा मतदान गर्ने प्रवृत्ति देखिएको बताएका हुन् ।

सङ्ग्रौलाले नेपाली समाजको वर्तमान मनोविज्ञानमा विवेकहीन भीडतन्त्र हाबी भएको र राजनीतिक नेतृत्वले त्यसलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने गरेको बताए । समाजमा तार्किक सोच र विश्लेषणको कमी रहेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिलाई ‘भेडोपन’ को संज्ञा दिए ।

उनले इतिहासका उदाहरण दिँदै पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको ठूलो जनलहर र त्यसपछिको निर्वाचनमा त्यसको तीव्र पतनलाई जनमतको अस्थिरताको उदाहरणका रूपमा प्रस्तुत गरे ।

पछिल्लो निर्वाचनको अनुभव सुनाउँदै सङ्ग्रौलाले चितवन र नवलपरासीका केही मतदातामा चरम अन्योल देखिएको बताए । उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्ने कतिपय मतदाताले समेत उम्मेदवारका रूपमा बालेन्द्र साहलाई बुझेका थिए ।

उनले कर्म, क्षमता र एजेन्डाको मूल्याङ्कन नगरी भीडको प्रभावमा निर्णय गर्ने प्रवृत्तिलाई पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ शब्दसँग तुलना गरे ।

नेतृत्वको चर्चा गर्दै सङ्ग्रौलाले सफल नेतामा प्रभावकारी वक्तृत्व, आकर्षक एजेन्डा र जनतालाई प्रभावित पार्ने क्षमता हुनुपर्ने बताए । उनले नेपालका सन्दर्भमा मदन भण्डारीलाई वक्तृत्व, तर्कशीलता र आक्रामकताको मिश्रण भएको ‘कस्मेटिक’ नेता भएको टिप्पणी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे टिप्पणी गर्दै सङ्ग्रौलाले भ्रम र यथार्थको मिश्रणमार्फत उनले ठूलो जनसमर्थन निर्माण गर्न सफल भएको बताए । तर नागरिकता–राहदानीसम्बन्धी कानुनी जटिलताका कारण कार्यकारी नेतृत्वमा पुग्ने बाटोमा समस्या आएको उनको भनाइ थियो ।

उनले सोही रिक्तता र जनअपेक्षाका कारण बालेन्द्र साह एक विकल्प वा ‘कामचलाउ’ पात्रका रूपमा अगाडि आएको विश्लेषण गरे ।

सङ्ग्रौलाले समाजले विवेकपूर्ण र तार्किक निर्णय गर्ने क्षमता विकास नगरेसम्म नेपालको राजनीतिमा अपेक्षित परिवर्तन आउन कठिन हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?