देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति

लोकपथ
105
Shares

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा मृत्यु भएकाको परिवार र नेपाल सरकारबीच बिहीबार राति ७ बुँदे सहमति भएको छ ।

गत साउन १० गते भएको हिंसात्मक घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरी र सर्वसाधारण गरी दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।

सम्झौतापत्रमा पीडित परिवारको तर्फबाट ओमप्रकाश मेहताका अभिभावक र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले र सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।

मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई नेपाल सरकारले शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने दुई पक्षबीच सहमति भएको छ ।

त्यस्तै घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरूलाई यथाशीघ्र कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।
मृतकद्वयको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?