काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजम, अवसरवाद र अराजकतावादको आधारमा उदाएका राजनीतिक शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै वर्तमानमा उदाएका नयाँ राजनीतिक शक्तिहरू अवसरवाद र अराजकतावादको जगमा उभिएको आरोप लगाए ।
पोखरेलले छिटो उदाएका राजनीतिक शक्तिहरूको पतन पनि छिट्टै हुने दाबी गर्दै त्यसपछि उत्पन्न हुने राजनीतिक रिक्ततालाई कसरी व्यवस्थापन गर्ने भन्ने नै मुख्य चुनौती रहेको बताए । उनले नयाँ शक्तिको असफलतापछि जनमत स्वतः पुराना दलहरूतर्फ फर्किहाल्छ भन्नेमा विश्वस्त हुन नहुने उल्लेख गरे ।
उनका अनुसार राजनीतिक दलहरूले विशेषगरी युवा पुस्तालाई आकर्षित गर्न नसके भविष्यमा थप चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्छ । पार्टीका कार्यक्रममा युवा सहभागिता घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले संगठनलाई युवा पुस्तामाझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
पोखरेलले पपुलिजमको असफलतापछि बन्ने राजनीतिक भविष्यलाई सही दिशामा लैजान मूलधारका राजनीतिक दलहरूले समयमै रणनीति तय गर्नुपर्नेमा पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया