कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जासहित अघि बढ्नुपर्छ : माधव नेपाल

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान परिस्थितिमा केही धक्का खेप्नुपरे पनि कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनमा उतारचढाव स्वाभाविक भए पनि त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले घोडाबाट लडेपछि शरीरको धुलो टक्टक्याएर फेरि उठेर अघि बढेजस्तै कम्युनिष्ट आन्दोलनले पनि कठिनाइलाई अवसरका रूपमा लिएर पुनः सशक्त ढंगले अगाडि बढ्नुपर्ने बताए ।

नेता नेपालले इतिहासका महत्वपूर्ण दस्तावेज र अभिलेखहरूको संरक्षणमा विशेष जोड दिँदै जेन–जी आन्दोलनका क्रममा आफ्नै घरमा आगलागी हुँदा धेरै महत्वपूर्ण सामग्री नष्ट भएको स्मरण गरे । परिवारका सदस्य र छिमेकीहरूले जोखिम मोलेर केही अभिलेख जोगाएकाले ती अझै उपलब्ध रहेको उनले बताए ।

उनले नरबहादुर कर्माचार्यसँग सम्बन्धित ऐतिहासिक सामग्री र अभिलेखहरू सुरक्षित राख्न आग्रह गर्दै इतिहासका यस्ता दस्तावेज भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे ।

नरबहादुर कर्माचार्यको योगदानको चर्चा गर्दै नेपालले विसं २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि प्रतिबन्धित अवस्थामा समेत पार्टीलाई जीवन्त राख्न कर्माचार्यले महत्वपूर्ण भूमिका खेलेको बताए । विशेषगरी मजदुर आन्दोलनलाई सशक्त बनाउन उनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको नेपालले प्रशंसा गरे ।

उनका अनुसार प्रतिबन्धको समयमा कसैलाई मजदुर, कसैलाई किसान तथा कसैलाई महिला आन्दोलनको जिम्मेवारी दिइएको थियो र ती समर्पित नेताहरूको योगदानकै कारण कम्युनिष्ट आन्दोलन निरन्तर अगाडि बढ्न सफल भएको हो ।

इतिहासका विभिन्न चरणमा नेता तथा कार्यकर्ताले पुर्‍याएको योगदानकै आधारमा आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै नेपालले ती उपलब्धि र कीर्तिमानलाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?