मोरङ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङलाई प्रहरीले स्रोत नखुलेको रकमसहित विराटनगर विमानस्थलबाट पक्राउ गरेको छ । नेपाल सरकारका उपसचिव तामाङलाई स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको जनाइएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले पक्राउ पर्दा बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेका कारण उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ गत ३ साउनमा बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं आउने क्रममा पक्राउ परेका थिए । उनी पक्राउ परेको विवरण प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो ।
उनको साथबाट १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी ६ लाख ६५ हजार रुपैयाँ फेला परेको जनाइएको छ । बरामद रकमको स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको स्रोतको भनाइ छ । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाइएको थियो ।
* यसअघि तस्बिर फरक पर्न गएकोमा क्षमा याचनासहित सच्याएका छौँ ।
-सम्पादक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया