विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकपथ
196
Shares

झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार गणभित्रको आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा बिहीबार साँझ करिब ५ बजे करेन्ट लागेर जवान सुदिम खत्री गम्भीर घाइते भएका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय खत्रीलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्‍याइएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट विद्युत्सम्बन्धी तालिम प्राप्त गरेका थिए । उनी गणभित्रको विद्युत् लाइन मर्मत गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

घटनाको कारणबारे सशस्त्र प्रहरी बलले अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?