‘कांग्रेस प्रदेशमा सत्ता छाड्न तयार छ, तर प्रतिपक्षीविहीन प्रदेश सभा बन्न दिँदैन’

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिएका हुन् ।

शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबिच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिए । कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु नहुने कांग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लङ्घन गर्न नमिल्ने जिकिर गरे ।

प्रदेश सरकारहरूको फेरबदल र नयाँ सरकार गठनको प्रक्रियामा प्रतिपक्षको परिकल्पना अपरिहार्य रहेको उनको तर्क छ ।

लोकतान्त्रिक प्रणालीलाई जोगाउन आवश्यक परे नेपाली काँग्रेस आफू प्रतिपक्षमा बस्न तयार रहेको तर सबै मुख्य दलहरू एउटै सरकारमा ओत लाग्ने प्रवृत्ति उपयुक्त नहुने शर्माले स्पष्ट पारे ।

उपसभापति शर्माले भने, ‘प्रदेश सरकारहरूको बारेमा केही समस्याहरू देखिएका छन् । सरकारमा रहेका दलहरूबिच केही समस्या उत्पन्न भएका छन् । अब प्रदेश सरकारहरू कसरी चल्छन् वा कसरी नयाँ बन्छन् भन्ने विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गर्नुभन्दा आन्तरिक रूपमा अभ्यास, संवाद र छलफल भइरहेका छन् । हामी एउटा कुरामा भने स्पष्ट छौँ । कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन । वर्तमान संविधान निर्माणका क्रममा महत्वपूर्ण भुमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनबारे संवाद र छलफल चलिरहेका बेला संविधानको मूल मर्मलाई उल्लङ्घन गर्न मिल्दैन । त्यसैले प्रदेश सरकारहरूको सन्दर्भमा उत्पन्न भएको समस्याको एउटा मुख्य चुरो यही विषयसँग सम्बन्धित छ । प्रदेश सरकार गठन वा फेरबदल हुँदा प्रतिपक्षविहीन प्रदेशको परिकल्पना नगरी हामी निष्कर्षमा पुग्न चाहन्छौँ । त्यसका लागि आवश्यक परे नेपाली काँग्रेस पार्टी बरु प्रतिपक्षमा बस्न पनि तत्पर हुन्छ । तर नागरिकको अभिमत र निर्वाचनको मर्मलाई बेवास्ता गर्दै, नागरिकको पछिल्लो मनोविज्ञानभन्दा बाहिर गएर सबै मुख्य दलहरू एउटै सरकारमा अटेर बस्नुपर्छ भन्ने मान्यता हामी राख्दैनौँ । त्यसैले अहिले उत्पन्न भएको विषयको सार यही हो र यसलाई पनि हामी संवादमार्फत समाधान गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले जे चाहन्छ त्यही हुन्छ भन्ने होइन । अन्य सबै राजनीतिक दलहरूको आत्मसम्मान र सहअस्तित्वलाई पनि सम्मान गर्दै संवादमार्फत समाधान खोजेर हामी प्रदेश सरकारहरूको विषयमा पनि टुङ्गोमा पुग्नेछौँ ।’

उनले प्रदेशमा देखिएका वर्तमान समस्याहरूलाई राजनीतिक संवादमार्फत हल गरिने बताए । नेपाली कांग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलहरूको आत्मसम्मान र सहअस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम टुङ्गोमा पुगिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?