मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल

लोकपथ
70
Shares

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।

जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल भएको थियो । विशेषगरी जातीय भेदभाव तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान र कानुनी कारबाही, पीडितको संरक्षण तथा उजुरीको शीघ्र सम्बोधनलाई प्राथमिकतामा राखिएको थियो ।

जातीय भेदभाव तथा छुवाछुतका घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रक्रिया प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने, प्राप्त उजुरीलाई संवेदनशीलतापूर्वक ग्रहण गर्ने तथा अनुसन्धान र अभियोजन प्रक्रियालाई शीघ्र अघि बढाउने विषयमा छलफल भएको थियो । प्रहरी कर्मचारी तथा अधिकारीलाई नियमित ब्रिफिङ र तालिममार्फत जातीय विभेदविरुद्धको कानुनी व्यवस्था, पीडितमैत्री व्यवहार र जवाफदेहिताबारे थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको थियो ।

महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई थप सक्रिय बनाउँदै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी पीडितमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

साथै, सीमान्तकृत समुदायबाट प्राप्त उजुरी तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै पीडितलाई आवश्यक संरक्षण र कानुनी उपचारमा पहुँच सुनिश्चित गर्नुपर्ने विषय उठाइएको थियो ।

त्यसैगरी, सीमापारी बालबालिकाको ओसारपसार तथा बेचबिखनको जोखिम न्यूनीकरण गर्न सीमा क्षेत्रमा जाँच तथा निगरानी सुदृढ गर्ने, स्थानीय बालकल्याण अधिकारी र स्थानीय तहसँग समन्वय बढाउने तथा सम्बन्धित निकायबीच सहकार्य प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार र सुरक्षासम्बन्धी सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने विषय पनि छलफलमा समेटिएको थियो ।

भेटवार्तामा मन्त्रालय र नेपाल प्रहरीबीच समन्वय तथा सहकार्य सुदृढ गर्दै जातीय भेदभाव तथा छुवाछुतविरुद्ध प्रभावकारी कानुनी कारबाही, हिंसापीडितको संरक्षण र महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न थप प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?