काठमाडौं । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउँदै छिन् । भ्रमणका क्रममा उनले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य सेवा तथा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको जर्मनी दूतावासले जनाएको छ ।
नेपाल बसाइका क्रममा राज्यसचिव कोफ्लरले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदार संस्थाका प्रतिनिधिसँग भेटघाट गर्नेछिन् । भेटघाटमा दुई देशबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ ।
जर्मनीको सङ्घीय सरकारले भोटेकोशी बाढीको प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ । उक्त रकम तत्कालीन मानवीय सहायता, प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र पुनर्निर्माणलगायत दीर्घकालीन विकासका काममा खर्च गरिनेछ ।
बाढीबाट प्रभावित नागरिकको अवस्था र मानवीय आवश्यकताबारे जानकारी लिन राज्यसचिव कोफ्लरले नुवाकोटको भ्रमण गर्नेछिन् । भ्रमणका क्रममा उनले स्थानीय सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा प्रभावित नागरिकसँग भेटघाट गरी राहत, स्वास्थ्य सेवा र पुनःस्थापनाका आवश्यकताबारे स्थलगत जानकारी लिने कार्यक्रम छ ।
त्यसैगरी, काठमाडौंमा उनले जर्मन विकास सहयोगबाट समर्थित स्थानीय स्वास्थ्य संस्थाहरूको भ्रमण गर्नेछिन् । स्वास्थ्य क्षेत्रका सरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा स्वास्थ्य सेवाको अवस्था र यस क्षेत्रमा भइरहेको सहकार्यबारे विचार आदानप्रदान हुने जनाइएको छ ।
नेपालको वर्तमान तथा भावी विकासक्रम र चुनौतीबारे जानकारी लिन पनि राज्यसचिव कोफ्लर विभिन्न छलफलमा सहभागी हुनेछिन् । ती छलफलमा गत वर्ष भएको जेनजी आन्दोलन र नेपालमा सङ्क्रमणकालीन न्यायका विषयसमेत समेटिनेछन् ।
भ्रमणका क्रममा विकास सहकार्यसँग सम्बन्धित विभिन्न तहका प्रतिनिधिका दृष्टिकोण बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । यसले जर्मनी र नेपालबीच लामो समयदेखि कायम रहेको विकास साझेदारीलाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ ।
राज्यसचिव कोफ्लर सन् २००४ देखि जर्मन संसद्को सदस्य रहँदै आएकी छन् । उनी सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन् । उक्त भूमिकामा उनले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिसम्बन्धी सहकार्यको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया