दृष्टिबन्धक राखिएको जग्गा पुनः धितो राखेर करोडौं ठगी : एकै परिवारका तीन जना पक्राउ

लोकपथ
1.1k
Shares

जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गालाई पुनः बैंकमा धितो राखेर चार करोड रुपैयाँ ऋण लिएको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।

अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई धनुषाको नगराइन नगरपालिका–जटहीस्थित सीमा नाकाबाट र हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्द कुमार साहले व्यापार सञ्चालनका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धक राखी कपाली तमसुक गरेर ९९ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको सुरक्षणका रूपमा रजिष्ट्रेशन गरिएको उक्त जग्गालाई जग्गाधनीलाई जानकारी नदिई गोपाल साहसहित तीन जनाले बैंकमा धितो राखेर चार करोड रुपैयाँ ऋण लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रहरीले गोपाल साहको जनकपुरधामस्थित घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्साहरू बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?