काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी शनिबार र आइतबार देशका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार बनाउँदै प्राधिकरणले साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ । यस्तै मधेस, वागमतीसहित अन्य हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले प्राधिकरणले पूर्वतयारी र सतर्कता बढाउन निर्देशन दिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
जोखिमको अवस्थालाई मध्यनजर गर्दै कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ वटा अति जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन् ।
प्राधिकरणले परिस्थितिको गम्भीरता हेरेर आवश्यक परे जुनसुकै समयमा सवारी आवागमन बन्द गर्न सकिने जनाएको छ ।
सम्भावित विपद् व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । जोखिमयुक्त राजमार्गमा सडक अवरोध हटाउन डोजर, एक्साभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।
यस्तै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान तथा नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
विपद्सम्बन्धी जानकारी र उद्धार सहयोगका लागि प्राधिकरणले ११५५, विपद् मद्दतका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले मौसम तथा विपद्सम्बन्धी आधिकारिक सूचना र चेतावनी नियमित रूपमा हेर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया