जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा शनिबार बिहान कैदीबन्दीबीच उत्पन्न विवादका कारण तनावपूर्ण अवस्था सिर्जना भएको छ । विवाद चर्किएपछि पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
कारागार प्रमुख रुपक मण्डलका अनुसार पछिल्ला दुई–तीन दिनदेखि कैदीबन्दीबीच आन्तरिक विवाद चलिरहेको थियो । सोही विवादका कारण असन्तुष्ट समूहले आत्मदाहको प्रयास गरेको उनले बताए ।
उनका अनुसार घटनापछि तत्काल कारागारभित्रै चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति हुन पाएन । अहिले सम्बन्धित पक्षबीच छलफल भइरहेको र विवाद समाधानतर्फ अघि बढिरहेको उनले जानकारी दिए । यद्यपि, विवादको वास्तविक कारणबारे भने उनले खुलाउन चाहेनन् ।
यता, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारमाथि भएको सामान्य कुटपिटको घटनाबाट विवाद सुरु भएको बताए । त्यसपछि कैदीबन्दीलाई सम्झाइबुझाइ गरी अवस्था नियन्त्रणमा ल्याइएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार कैदीबन्दीहरूले आफूहरूसँग सम्मानजनक व्यवहार हुनुपर्ने माग राखेका छन् । प्रहरीभित्र प्रवेश गर्न खोज्ने क्रममा केही कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरे पनि सुरक्षाकर्मीको सक्रियताले ठूलो दुर्घटना टरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया